
पोखरा, ४ चैत/ गण्डकी बहुप्राविधिक शिक्षालय पोखरामा अध्ययनरत नवीन पराजुली नेपालभर उत्कृष्ट अंक ल्याउन सफल भएका छन् । डिप्लोमा इन सिभिल इन्जिनियरिङ्गमा अध्ययनरत छात्र नवीन पराजुलीले प्रथम सेमेस्टरको परिक्षामा ९२ प्रतिशत अंक प्राप्त गरि नेपाल भरबाट सर्वोत्कृष्ट बन्न सफल भएका छन् ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) ले डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टर तर्फको नतिजा प्रकाशन गरेको थियो ।
नतिजा अनुसार डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङमा नेपाल भरबाट ७ प्रतिशत विद्यार्थीहरू मात्र पास भएका छन् । परीक्षामा सहभागी पोखरा महानगरपालिकाद्धारा सञ्चालित गण्डकी बहु प्राविधिक शिक्षालयमा अध्ययनरत १५ जना विद्यार्थीहरू मध्ये ८ जना अर्थात् ५३ दशमलव ३३ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन् ।
उत्तीर्ण प्रतिशतका आधारमा गण्डकी बहु प्राविधिक शिक्षालय देशभरका १४ शिक्षालयहरू मध्ये प्रथम भएको छ । ६ वटा प्राविधिक शिक्षालयको नतिजा शून्य देखिएको छ ।
यस्तै गरी डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रथम सेमेस्टरको परीक्षामा पनि गण्डकी प्राविधिक शिक्षालयले राम्रो नतिजा निकाल्न सफल भएको छ । ३४ जना विद्यार्थी सहभागी भएको परीक्षामा २९ जना उत्तीर्ण हुन सफल भएका छन् ।
प्राविधिक शिक्षा पढाइ हुने गण्डकी प्रदेशका २० वटा स्कुल तथा शिक्षालयहरू मध्ये गण्डकी बहु प्राविधिक शिक्षालय उत्तीर्ण प्रतिशतका आधारमा पहिलो भएको हो ।