×
Home
Downloads
Contact Us
Flash News
News
गण्डकी बहु-प्राविधिक शिक्षालयद्वारा आयोजित प्रथम डिप्लोमा कप पोखरा इन्जिनियरिङ कलेजलाइ |

पोखरा, २०७९/०८/२२
पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालय भण्डारढिक र पोखरा महानगर खेलकुद विकास समितिद्वारा संयुक्त रूपमा आयोजित ‘प्रथम डिप्लोमा कप भलिबल प्रतियोगिता २०७९’ को उपाधि पोखरा इन्जिनियरिङ कलेज(पेक)ले जितेको छ ।

बुधबार जनप्रकाश माविको भलिबल मैदानमा सम्पन्न भएको फाइनल खेलमा पोखरा इन्जिनियरिङ कलेजले गण्डकी बहुप्राविधिक शिक्षालयलाई २५–१७ र २५–२० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

यसअघि भएको सेमीफाइनल खेलमा गण्डकी बहुप्राविधिक शिक्षालयले सरस्वती टीका र पोखरा इन्जिनियरिङ कलेजले विश्वशान्ति माविलाई पराजित गरी फाइनलमा प्रवेश गरेका थिए । विभिन्न शिक्षालयमा प्राविधिक विषयमा डिप्लोमा तह अध्ययनरत विद्यार्थीका बीचमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी गण्डकी बहुप्राविधिकका निश्चल गुरुङ, उत्कृष्ट लिफ्टर पेकका अमृत भण्डारी, उत्कृष्ट डिफेन्डर सरस्वती टीका माविका रोशन खत्री र उत्कृष्ट स्पाइकर विश्वशान्तिका दुर्गाबहादुर डाँगी घोषित भए ।

कार्यक्रममा सिटिइभिटी गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले खेलकुद र शिक्षा सँगसँगै अगाडि लैजान सके गुणस्तरीय शिक्षा र खेलकुदमार्फत स्वास्थ्य मजबुत बनाउँदै राष्ट्रका लागि योग्य जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने बताए ।

सिटिइभिटी गण्डकी प्रदेशले नै आयोजना गर्नुपर्ने यस खालको कार्यक्रम गण्डकी बहुप्राविधिक शिक्षालयले आयोजना गरेकोमा खुसी व्यक्त गर्दै यसलाई आगामी वर्षदेखि विशेष रूपमा सम्पन्न गर्नका लागि सिटिइभिटीले सहयोग गर्ने प्रतिवद्धता गरे ।

विजयी एवं उत्कृष्ट विद्यार्थीलाई यही मंसिर २२ गते शिक्षालयमा आयोजना गरिने समारोहमा पुरस्कार वितरण गरिने शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । प्रतियोगितामा मुख्य रेफ्री खड्गबहादुर गुरुङ र सहायक रेफ्री मनोज पौडेल थिए । प्राविधिकमा सुमनचन्द्र सुवेदी र विक्रम भुसाल थिए ।


08 December 2022