×
Home
Downloads
Contact Us
Flash News
News
गण्डकी बहुप्राविधिकमा स्वागत एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न

गण्डकी बहुप्राविधिकमा स्वागत एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न 


पोखरा, २२ मङ्सिर । पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालय, भण्डारढिकमा नवआगन्तुक विद्यार्थीका लागि स्वागत एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथिका रूपमा पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले शिक्षा आर्जन गर्नु र सिप आर्जन गर्नु बिलकुल फरक रहेकाले प्राविधिक शिक्षालाई अगाडि बढाउने कार्यमा महानगरपालिका निरन्तर लागिपरेको कुरा उल्लेख गरिन् । सिङ्गो महानगर एवम् देशमा नै प्राविधिक जनशक्ति आवश्यक रहेका कारणले प्राविधिक शिक्षालाई प्राथमिकता दिएर पोखरा महानगरपालिकाले यस शिक्षालयमार्फत विभिन्न विषयमा अध्यापन गराउँदै आएको समेत उल्लेख गरिन् । पोखरालाई शैक्षिक केन्द्रका रूपमा विकास गर्ने उद्देश्यमा महानगरपालिका दृढ रहेको र सोही अनुपातमा बजेटसमेत विनियोजन गरिँदै आएको समेत जानकारी दिइन् । 


कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले प्राविधिक शिक्षामार्फत् राष्ट्रका लागि आवश्यक जनशक्ति उत्पादनमा शिक्षालयले विशिष्ट योगदान दिने विश्वास व्यक्त गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा सम्झौता नगरी शिक्षालय अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङले शिक्षालय यस वडाको गहना भएका कारण आगामी दिनमा शिक्षालयलाई आफ्नै भवनमा अध्यापन गर्न मिल्ने गरी व्यवस्थापन गर्ने कार्यमा वडा कार्यालय प्रतिबद्ध रहेको कुरामा जोड दिए । 

शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले महानगरपालिकाले जुन उद्देश्यले शिक्षालय स्थापना गरेको थियो । सो उद्देश्यमा केही कदम अगाडि बढिसकिएको र आगामी दिनमा सिटिइभिटीसँगको समन्वयमा विभिन्न कार्यक्रम थप गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए । शिक्षाको विकासमा सामूहिक सक्रियता आवश्यक पर्ने भएकाले सबैको साथ र सहयोग लिएर शिक्षालयलाई नेपालकै प्राविधिक शिक्षाको गहनाका रूपमा विकास गर्नेतर्फ शिक्षालयको सिङ्गो समूह अगाडि बढेको समेत बताए । कार्यक्रममा पोखरा इन्जिनियरिङ कलेजका सञ्चालक अम्बर गुरुङ, संयोजक जयश चालिसे, गण्डकी प्रदेश खेलकुद महासंघका अध्यक्ष विष्णु पुन, पोखरा महानगरपालिकाका लेखा अधिकृत रविन्द्र अधिकारी, लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष कृष्ण अधिकारी, महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा देशका विभिन्न ठाउँबाट प्राविधिक शिक्षा अध्ययन गर्नका लागि डिप्लोमा तहको प्रथम सेमेस्टरमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरिएको थियो । सो अवसरमा गण्डकी बहुप्राविधिक शिक्षालय र महानगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा सम्पन्न भएको ‘डिप्लोमा कप भलिबल प्रतियोगिता–२०७९’ को विजेता समूह पोखरा इन्जिनियरिङ कलेज र उपविजेता गण्डकी बहुप्राविधिक शिक्षालयका खेलाडीलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो । साथै कलेजले आयोजना गरेका विभिन्न खेलकुद एवम् सहक्रियाकलापमा भाग लिई विजयी भएका विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । उक्त अवसरमा विद्यार्थीहरूले गायन, नृत्य एवम् विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरेको शिक्षालयका प्रशिक्षक कृष्णप्रसाद धितालले जानकारी दिए । 

गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारीले गरेका थिए । 





08 December 2022