पोखरा, २०८२-०८-१८ गते |
सन्तोष शर्मा
विकास र सम्भावनाको संवेदनशील मोडमा उभिएको हाम्रो देश नेपाल हाल अवसर र चुनौती दुबैको माझमा दोहोरो सम्भावना बोकेर उभिएको छ । विकासका प्रशस्त सम्भावना रहे पनि दक्ष जनशक्तिको अभावले ती सम्भावनालाई ठोस उपलब्धिमा रूपान्तरण गर्न कठिनाइ भइरहेको छ । । यस्तो परिस्थितिमा देशलाई दिगो विकास र आधुनिक प्रतिस्पर्धामा र मजबुत अर्थतन्त्र बनाउने आधारका रूपमा प्राविधिक शिक्षा प्रभावकारी बन्दै आएको छ ।
प्राविधिक
शिक्षा भन्नाले पुस्तकमा सीमित सिद्धान्तभन्दा धेरै, व्यवहारमा आधारित सीप,
दक्षता र वास्तविक कार्यक्षेत्रमा प्रयोग गर्न सक्ने क्षमता प्रदान गर्ने
शिक्षालाई बुझिन्छ । यसले युवालाई रोजगारमा सजिलै प्रवेश गराउन, उद्यमशीलताको बाटो खुला गर्न र आधुनिक प्रविधिसँग प्रतिस्पर्धा गर्न सक्षम
बनाउँछ ।
नेपालका सडक, भवन,
ऊर्जा, हाइड्रोपावर, कृषि,
पर्यटनदेखि सूचना–प्रविधिसम्मका विकास परियोजनामा दक्ष प्राविधिक
जनशक्तिको माग तीव्र छ। व्यावहारिक सीप अभाव भएकै कारण धेरै युवा विदेशिन बाध्य
छन् भने प्राविधिक शिक्षा प्राप्त युवाहरू देशमै रोजगारी सिर्जना गर्न सक्षम
भइरहेका छन् । यसले राष्ट्रको उत्पादनक्षमता र आन्तरिक अर्थतन्त्र दुवैलाई मजबुत
बनाएको छ ।
विशेषगरी
ग्रामीण क्षेत्रमा यसको प्रभाव झनै महत्वपूर्ण छ। मेकानिकल मर्मत–सम्भार, आधुनिक
कृषि प्रविधि, कम्प्युटर सेवा र साना उद्यम सञ्चालन गर्न सीप
प्राप्त युवाले गाउँमै रोजगारी र सेवा उपलब्ध गराउन थालेपछि विदेशिनुपर्ने बाध्यता
घट्दै गएको छ ।
प्राविधिक
शिक्षाको विकासमा गण्डकी बहुप्राविधिक शिक्षालय, पोखरा, उल्लेखनीय
योगदानकर्ता बनेको छ । इन्जिनियरिङ, कम्प्युटर, हेल्थ, फार्मेसी, मेकानिकल,
प्लम्बिङ तथा अन्य सर्ट–टर्म तालिममार्फत शिक्षालयले उद्योग–मैत्री
र व्यावहारिक जनशक्ति उत्पादन गर्दै आएको छ । यहाँबाट तालिम प्राप्त विद्यार्थीहरू
विभिन्न सरकारी तथा निजी क्षेत्रका परियोजनामा सक्रिय रूपमा संलग्न छन् ।
विश्व
आर्टिफिसियल इन्टेलिजेन्स,
रोबोटिक्स, नवीकरणीय ऊर्जा र बायोटेक्नोलोजीको
दिशामा तीव्र गतिमा अघि बढिरहेको बेला नेपाललाई पनि समयानुकूल प्राविधिक जनशक्ति
आवश्यक छ। प्राविधिक शिक्षाले नयाँ पुस्तालाई यही परिवर्तनसँग प्रतिस्पर्धा गर्न
सक्षम बनाउँदै राष्ट्रलाई आधुनिक अर्थतन्त्रतर्फ धकेलिरहेको छ ।
अन्ततः प्राविधिक
शिक्षा नेपालका लागि कुनै विकल्प होइन—भोलिको समृद्ध राष्ट्र निर्माणको अनिवार्य
आधार हो । दक्ष जनशक्ति उत्पादनमार्फत आत्मनिर्भरता, रोजगारी, उद्यमशीलता र दिगो विकास सम्भव हुन्छ, र यस
अभियानलाई शिक्षालय जस्ता संस्थाहरूले अझ सशक्त बनाइरहेका छन् ।