×
Home
Downloads
Contact Us
Flash News
News
कागजको घोडा हैन : प्राविधिक शिक्षा

दार्शनिक अरस्तुले भनेका छन् शिक्षाको कार्य स्वस्थ्य शरीरमा स्वास्थ्य मनको निर्माण गर्नु हो | यसैलाई टेवा पुग्ने गरी दार्शनिक जोन लकले थपेका छन ,जसरी बोटविरुवाको विकास गोडमेल द्वारा हुन्छ ,ठिक त्यसै गरी मानिसको विकास शिक्षा द्वारा हुन्छ | सृस्टीको प्रारम्भ देखि शिक्षा ,समाज एव मानव जीवन संग टासीएको छ |किनभने शिक्षाको सम्बन्ध जीवन संग छ | जवसम्म विश्वमा जीवको अस्तित्व रहिरहन्छ तव सम्म शिक्षाको प्रक्रीया चलीनै रहन्छ | यसर्थ कितावका पानामा छापिएर रटाइएको ज्ञान मात्रै शिक्षा र सर्टिफिकेटमा अङ्क धारी मान्छेहरु मात्र शिक्षित भन्ने सोचले समाजको विकासक्रम पछाडी परेको स्पस्ट देख्न सकिन्छ | व्यक्तिका जिवनकालमा आइपर्ने सिकाइ  र अनुभव बिश्वबिद्यालयको ज्ञान भन्दा फरक छ |

नेपालको शिक्षा विकासक्रम हेर्ने हो शिक्षा भनेको  औपचारीक शिक्षा मात्र हो भन्ने सोचाइ बाट ग्रसित छ | हाम्रो शिक्षाले कतिपय अवस्थामा धेरै विभेदहरु जन्माएको छ | नेपालको परिवेशमा  भने शिक्षा भनेको उपल्लो वर्गका लागि मात्र हो भन्ने एकखालको भ्रमित संस्कारको विकास हुनगई साधारण शिक्षाको माग धेरै प्रचार भईरहेको थियो । औधोगिक क्रान्ति पछि बेलायतले विज्ञान र प्रविधिमा ठूलो फड्को मार्ने कोशिस गरेता पनि उदार शिक्षाको पृष्ठपोषण केहि शिक्षण संस्थाहरुले परिस्थितिको आकलन गर्ने नसकेको कारणले गर्दा प्राविधिक शिक्षा पछि पर्न गएको कुरामा इतिहास साक्षि छ । 

नेपालको हकमा दशौ योजना वि,सं २०५९,२०६४ ले प्राथमिक शिक्षालाई अनिवार्य गर्न महिला शिक्षालाई अनिवार्य गर्दै लैजाने माध्यामिक तह सम्मको शिक्षा सञ्चालन गर्न शैक्षिक गुणस्तरमा फड्को मार्ने रोजगारमुलक शिक्षा प्रर्वद्नण गर्ने प्राविधिक तथा व्यावसायिक शिक्षामा जोडदिदै क्रमश उच्चशिक्षा विश्वपरिवेशको शिक्षा औपचारिक रुपमा व्यावसायिक शिक्षामा परिवर्तन गरीएको थियो । नेपालमा प्राविधिक शिक्षाको महत्व छ भन्ने कुराको अगुवाई राणा कालमा नभएको होइन | राणा प्रधानमन्त्री बिरशमशेरले आफ्ना छोरा गेहेन्द्र शमशेर सहित ५ जनालाई जापानमा प्राविधिक शिक्षा अध्ययन गर्न जापान पठाएका थिए | विस १९४२ ताका नै नेपालमा प्राविधिक शिक्षाको बहसको जमर्को  राणा प्रधानमन्त्री विर शमशेरले गरेका थिए |

पछिल्लो समय नेपालमा शिक्षाको साधारण र प्राविधिक धार मध्ये प्राविधिक धारमा जोड दिने सरकारी नीति  कागजबाट बाहिर उम्किन सकेको छैन | नेपालका हरेक प्राविधिक पेशाहरुमा संलग्न व्यक्तिहरुको संख्या आकलन गर्ने हो भने नेपाली श्रमिकको संख्या र बिदेशी श्रमिकको संख्या अनुपात २३:७७  रहेको अध्ययन हरुले देखाएको छन | नेपालमा प्राविधिक शिक्षा कागजमा बलियो बनेको शिक्षा पद्दति हो तर व्यवहारमा यसलाइ कार्यन्वयन गर्नको लागी हाम्रो मानसिकता बाधक बनेको छ |

 

 

 

कोइला र हिरा दुवै कार्वन त हो नि :

मैले यहा यौटा सामाजिक परिवेश  जोड्न खोजेको छु ,जसले भनौ वा जुन चिन्तनले प्राविधिक शिक्षा अझै पनि व्यवहारीक शिक्षा बन्न सकेन | राज्यका हरेक निकायले शिक्षालाइ जीवनउपयोगी ,व्यवहारीक ,गुणस्तरीय र प्राविधिक सिप सहितको काम  गरी खान सक्ने काममा सम्मान गर्न सक्ने जनशक्ती उत्पादनको नीति र कार्यक्रम देश ब्यापी ल्याउदा पनि किन हामि अलमलमा नै रह्यौ आजको मूल प्रश्न यहि हो ,प्राविधिक शिक्षाको सवालमा |

आज अस्ट्रेलियाको सिड्नीमा  नेपाली भाइको कपाल काट्ने दोकान चलाउन सक्षम नेपालि दाजु भाइ किन नेपालमा कैची चलाउन हिम्मत गर्न सकेनन ? कतारमा जिप्सम फिटीङ्गको जिम्मा लिने नेपालीहरुले किन नेपालमा जिप्समको काम गर्ने हिम्मत गर्न सकेनन समिक्षाको बिषय रहला | खाडीमा बेल्चा चलाउने नेपालीले नेपालमा पिचको काम गर्नको लागी आफुलाई उभ्याउन किन र के ले रोक्यो ?? यस्ता हजारौ प्रश्नहरुइको यौटै जवाफ हो ,हामीलाई हाम्रो शिक्षाले जागिरे बन्न प्रेरीत गरेको छ | जागिर खाने एक जना भन्दा जागिर दिन सक्ने ब्यक्तीको देशको अर्थतन्त्रमा हुने योगदान हाम्रो शिक्षा प्रणालीले कतै सिकाउने प्रयास नै गरेन | दुर्भाग्य हामीलाइ  कवाडी संकलनको काम गर्न लाज मान्नु पर्ने बनाइदियो ,गाडीको मर्मत गर्ने मिस्त्रीलाई तल्लो दर्जाको रुपमा स्थापित गराउन सभ्यताको आवरणमा ढोगी  समाज लागिरह्यो | शिक्षितको परिभाषा नै मार्कसिटको आधारमा ठहराउदै सम्मान गर्ने परीपाटीमा समाज पल्क्यो |  यसर्थ प्राविधिक ज्ञान भएका मानिसहरु समेत प्राविधिक पेशामा ढुक्क भएर खुलेर काम गर्न सक्ने बातावरण देश भित्र बन्न सकेन |सिप कला र गला हुनेहरु कहिले पनि छाती फुलाउन सकेनन ,जसको परिनीति नेपाली श्रम बजार ७७ प्रतिशत बिदेशी श्रमिकमा निर्भर रह्यो ,जसले हामीलाई उत्पादनमा आत्मनिर्भर बन्नको लागी प्रेरीत गर्न नै सकेन | फलस्वरूप प्राविधिक शिक्षाको ब्यानर झुण्ड्याएका शैक्षिक सस्थाहरु समेत प्राविधिक ज्ञान होइन ,साधारण शिक्षामै केन्द्रीत रहदै सर्टिफिकेट वितरण केन्द्रको रुपमा आफुलाई उभ्याए | हाम्रो प्राविधिक शिक्षाले फेरी पनि कार्वन नै सिकायो | कार्वन मलिक्युलको स्थानको आधारमा त्यसको कोइलाको मूल्य र हिरा (diamond) को मूल्य बुझाउन तर्फ हामिहरु लाग्न सकेनौ | जसको परिणाम नेपालको प्राविधिक शिक्षा चर्को स्वरको हुकार त बन्यो तर अगाडी बढ्ने हिम्मत गर्न सकेन |विद्यालयहरुले प्राविधिक शिक्षा चलाउनको लागी हिम्मत त गरे तर त्यहा पाठ्यक्रम प्राविधिक सिप सिकाउन सक्ने भन्दा पनि भोलि साधारण शिक्षाका अनुसन्धानमा लाग्ने बिधार्थी संग प्रतिस्पर्धी बन्न सक्ने शिक्षालाई दीर्घकालीन लक्ष बोकेर बनेर आइदियो | अनि प्राविधिक शिक्षाका विधार्थीलाई कमजोर देखाउने ध्याउन्नमा ठुलो शैक्षिक जनशक्ती लागिरह्यो |

 

प्राविधिक धार र साधारण धारको शिक्षा मोड्युल :

हाल प्राविधिक शिक्षाको महत्व अनुरुप सिपवान जनशक्ती उत्पादन हुन नसक्नुमा नेपालको शिक्षा प्रारूप नै दोषी देखिन्छ | प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदमा तिनबर्ष इन्जिनियरिंग पढेको विधार्थीको क्षमता उसको काम गर्न सक्ने सिपको क्षमता भन्दा पनि बिस्व विद्यालयले लिने स्नातकको प्रवेश परिक्षाको आधारमा गर्ने गरिन्छ | दुइ वर्ष बिज्ञान पढेको बिद्यार्थी संग प्राविधिक सिप सिकेको ब्यक्तीलाई प्रतिस्पर्धा गर्न लगाउने विभेदकारी व्यवस्थाले प्राविधिक उत्पादनमा असहयोग गरेको देख्न सकिन्छ | प्राविधिक शिक्षा अध्ययन गरेका बिधार्थीको लागी थप उच्च शिक्षा अध्ययनको प्राविधिक बिस्वबिध्यालय खोल्नु पर्छ भन्ने चेत १३ वटा विश्वबिद्यालय संचालन गराउन पहल गरेको राज्य संग छैन | प्रतिस्पर्धा आफ्नो तहको संग गराएर सफल असफल छुट्याउनुको सट्टा प्राविधिक सिप ज्ञान बारे घुमाउरो पारामा गलत सन्देशको प्रवाह रोकिन नसक्दा नेपालमा प्राविधिक शिक्षा कागजी बन्दै गएको छ | यौटा उदाहरण प्रस्तुत गरौ ,

प्राविधिक शिक्षाका बिषयमा विश्वबिद्यालयको प्रवेश परिक्षामा उतिर्ण गराउने पाठ्यक्रम बनाउनुको सट्टा ब्यक्तीको रुची अनुरुप क्रेडिटको व्यवस्था गराउदै पढ्दै कमाउदै योजना अगाडी सार्नु जरुरि छ | बिश्वबिद्यालय शिक्षामा सोहि विषयबाट स्नातक गरेको व्यक्ति संग हुने प्राविधिक ज्ञान ,प्राविधिक धार अध्ययन गरेको प्रमाणपत्र तह उतिर्ण व्यक्ति संग बढी हुन सक्छ | फेरी बिश्वबिद्यालय शिक्षामा सोहि विषयबाट स्नातक गरेको व्यक्ति संग हुने बिषयबस्तु गत सैदान्तिक  ज्ञान र बुझाइ  ,प्राविधिक धार अध्ययन गरेको प्रमाणपत्र तह उतिर्ण व्यक्ति संग निकै कम हुन सक्छ | यसर्थ प्राविधिक शिक्षा भित्र पनि दुइधार रहेको कुरा पाठ्यक्रम ,शिक्षा मोड्युल बनाउने हरुले बुझ्न जरुरि छ | जो व्यक्ति प्राविधिक ज्ञानमा दक्ष छ तर सैदान्तिक ज्ञान मा कमजोर छ भने उसलाई उसको सिपको तह निर्धारण गर्न कहिले सम्म  राज्यले कन्ज्युस्याई गरिरहने ?

BNBSC nursing को उत्पादन  यौटा अस्पतालको लागी योग्य हुन्छ  र अर्को अध्यापन एव अनुसन्धानका लागी | यस्तै अन्य प्राविधिक धारमा पनि हुनेछ | दुध र दुध जन्य प्रदार्थ उस्तै लागे पनि यी दुवै कुरा फरक हुन | यसर्थ प्राविधिक शिक्षाको पनि अध्ययन अनुसन्धानको धार विश्व विद्यालयले र प्राविधिक सिपको आधारमा दक्ष जनशक्ति उत्पादन धारको लागी प्राविधिक विश्व बिद्यालय सन्चालन वा फरक फरक ढंगले अध्ययनको अवसर दिन सक्दा हाम्रो श्रम बजारमा सहज खपत हुने जनशक्ती उत्पादन हुने कुरामा दुइमत रहने छैन |

अव दुइ वर्ष बिज्ञान पढेको बिधार्थिले ४ वर्ष स्नातक गरिरहदा , तिनबर्ष डिप्लोमा गरेको बिधार्थीको लागी प्राविधिक सिप ज्ञानको थप दक्षताको लागी तिनबर्ष सम्मको स्नातक कोर्ष त्यसमा पनि फिल्ड प्रयोगात्मक कार्य आधा समय भन्दा बढी रहने र उसको क्षमता प्रदशनको आधारमा मुल्याकन गर्ने पद्दत्तिको विकास गर्नु आजको आवश्यकता हो |जसले प्राविधिक शिक्षा बिधार्थीको आकर्षण बढ्नुको साथै देश भित्र प्राविधिक जनशक्तीको बिकास मा सहयोग पुग्नेछ | यसले देश भित्र रोजगारीको अवसरमा नेपालि जनशक्तिलाई खपत गर्नुको साथै बिस्व बजारमा हाम्रा जनशक्ती तलव डिमाण्ड गर्न सक्ने हैसियतमा पुग्ने छन |

 

लक्षमण तिमिल्सिना ,पोखरा  

18 March 2023